नेपाल आउन सक्छ इंग्ल्याण्ड क्रिकेट टोली

काठमाडौं । टेस्ट राष्ट्र इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोलीले आगामी वर्षहरूमा नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ । क्रिकेटसम्बन्धी चर्चित माध्यम इएसपीएन क्रिकइन्फोको अनुसार इंग्ल्याण्डले २०२७–३१ अन्तर्राष्ट्रिय साइकलअन्तर्गत नेपाल भ्रमणको सम्भावनाबारे छलफल गरिरहेको छ ।

यदि इंग्ल्याण्ड नेपाल भ्रमणमा आएको खण्डमा, नेपालमा क्रिकेट खेल्न आउने सबैभन्दा ठूलो टेस्ट राष्ट्र बन्नेछ । गत वर्ष भारतमा सम्पन्न आईसीसी टी-२० क्रिकेट विश्वकपमा इंग्ल्याण्डविरुद्ध नेपालले गरेको उत्कृष्ट प्रदर्शनपछि इंग्ल्याण्डले भविष्यमा नेपालसँग खेल्ने चासो देखाएको थियो । उक्त खेलमा नेपाल केवल ४ रनले पराजित भएको थियो र त्यस प्रदर्शनले विश्व क्रिकेटको ध्यान आकर्षित गरेको थियो ।

सोही खेलपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले इंग्ल्याण्ड क्रिकेट बोर्डका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । त्यसयता दुई राष्ट्रबीच क्रिकेट सहकार्यबारे सकारात्मक छलफल भइरहेको बुझिएको छ ।

विश्वकपअघि नेपालले यूएईमा भएको ऐतिहासिक टी-२० सिरिजमा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्दै टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न आफू सक्षम रहेको संकेत दिएको थियो ।

हाल इंग्ल्याण्डले २०२७–३१ अन्तर्राष्ट्रिय साइकलका लागि विभिन्न राष्ट्रहरूसँग द्विपक्षीय सिरिजबारे छलफल गरिरहेको छ । सोही क्रममा नेपाल भ्रमणको विषय पनि प्राथमिकतामा परेको बताइएको छ । भ्रमण भएमा इंग्ल्याण्डले नेपालसँग छोटो टी-२० वा एकदिवसीय सिरिज खेल्ने सम्भावना रहेको छ ।

यसअघि क्यानले आयरल्याण्ड क्रिकेट बोर्डसँग पाँच वर्षे रणनीतिक सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार दुवै टोलीले नियमित रूपमा एकदिवसीय र टी-२० सिरिज खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *