काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू इतिहास लेख्ने यात्रामा हिँडेको बताएका छन् ।
आइतबार पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू जीवनी लेख्न नभई इतिहास लेख्न हिँडेको बताएका हुन् । उनले सरकारमा मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै ठूलो कुरा नभएको बताए ।
उनले भने, ‘कसैलाई लाग्ला, पार्टी सभापति प्रधानमन्त्री बन्न हिँडेको लाग्छ भने त्यो पूर्णतया भ्रममात्रै हो । म जीवनी लेख्न हिँडेको होइन । इतिहास लेख्न हिँडेको हो ।जीवनी लेख्नु ठूलो कुरा होइन ।’
सभापति लामिछानेले सरकारले सोचविचार गरेरै आफ्ना कदम चालिरहेको बताए । उनले सरकारले अहिलेसम्म गरेका कामबाट दुःखमनाउ गर्नुपर्ने अवस्था नरहेको पनि बताए । उनले भने, ‘तपाईंहरू के निर्धक्क हुनुहोला भने सरकारले सोचेर नै आफ्ना कदम चालिरहेको छ । सरकारले गरेका काममा आजको दिनसम्म हामी कसैले दुःखमनाउ गर्नुपर्ने या अप्ठ्यारो पर्यो कि भनेर क्यामेरा देख्दा भाग्नुपर्ने अवस्थामा छैनौं ।’
उनले अध्यादेशको बचाउ गर्दै छिटो काम दिन त्यस्तो कदम चालिएको बताए । उनले भने, ‘देश र समाजलाई हेरेर कुनै कानुन फास्ट ट्रयाकमा बनाउनुपर्छ । अध्यादेशमा कन्टेन्टको कुरा गर्दा त्यसले दिन खोजेको सेवामा कहीँ कतै टीकाटिप्पणी हुन सकेको छैन ।’
उनले सांसदहरुले मन्त्री बन्न नपाएकोमा दुःख मान्नुपर्ने बेला नभएको बताए । उनले भने, ‘हामी यति धेरै जितेर आयौँ । सबै मन्त्री हुन सकेनौँ । कतै न कतै दुःख त छ, साथीहरूलाई । तर दुःख नमान्नु होला । सांसदको जिम्मेवारी त्यो भन्दा धेरै छ ।’
त्यस्तै सभापति लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न पनि आग्रह गरेका छन् । उनले भने, ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ । ’
उनले कतिपय विश्लेषकले देश अप्ठ्यारोमा गयो भन्ने भाष्य बनाएपनि बास्तविकता त्यस्तो नभएको बताए । उनले भने, ‘कतिपय विश्लेषकहरूलाई लाग्न सक्छ, कहाँ गयो देश ? कहीँ अप्ठ्यारोमा पर्यो कि भनेर त्यस्तो भाष्य सिर्जना गर्न खोजिँदैछ। कहीँ पनि अप्ठ्यारोमा छैन देश, देशलाई ट्रयाकमा ल्याउँदैछौं। ट्रयाकबाहिर त हिजो थियो ।’
उनले देशको सार्वभौमिकता र अखण्डताप्रति रास्वपा अडिग र अटल रहेको बताए । उनले भने ,’हामी निर्भीक भएर अडिन सक्छौं। बोल्न सक्छौं। त्यस कारण यी कुराहरूमा हामी कहिले पनि सम्झौता गर्दैनौं ।’ उनले पार्टीका नेता, सांसदहरूका अभिव्यक्ति, क्रियाकलापले पार्टीलाई भोट दिनेहरूमा निराशा ल्याउनसक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।
