टेलिकमका तारलाई व्यवस्थित गर्न पोखरा पर्यटन परिषद्को आग्रह

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखराका लेकसाइड, ड्यामसाइड, बेगनास ताल लगायतका क्षेत्रमा रहेका टेलिकमका तारलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष तारनाथ पहारी नेतृत्वको टोलीले आज नेपाल टेलिकम पोखरा कार्यालयका प्रमुख प्रेमराज ढुङ्गानालाई ध्यानाकर्षणपत्र बुझाउँदै लेकसाईड, डयामसाईड, बेगनासलगायतका पर्यटकीय क्षेत्रमा अव्यवस्थित तारका कारण यहाँको सौन्दर्यतामा गम्भीर असर पारेको जनाएको छ ।

पोखरा क्षेत्रका विभिन्न स्थानमा विद्युतीय तार भूमिगत व्यवस्थापनकार्य तीव्र रूपमा भइरहेका अवस्थामा नेपाल टेलिकमले आफ्ना तार व्यवस्थापनका लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन परिषद्ले आग्रह गरेको छ ।

“तारका कारण पर्यटकलाई तस्बिर खिच्न तथा दृश्यावलोकनमा  कठिनाई भइरहेको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ, “कतिपय पोलमा तारैतारको गुजुल्टोले गर्दा विदेशी पयर्टकले त्यसलाई ब्ल्याक ट्रिको सङ्ज्ञासमेत दिएका छन् ।”

पर्यटकीय क्षेत्रमा तार भुमिगतकार्य सुस्त रूपमा अगाडि बढेको र त्यस क्रममा खनिएका खाल्डा व्यवस्थित रूपमा नपुरेको कारण कतिपय मुख्य सडक र भित्रि सडकमा वर्षाका कारण थप खाल्डाको आकार बढ्दै जाँदा सवारी साधन फँस्ने, सवारी दुर्घटना निम्त्याउने अवस्था रहको भन्दै त्यसतर्फ पनि ध्यानकर्षण गराइएको छ ।

भेटमा परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरालाई दिगो पर्यटकीय गन्तव्यका साथै स्मार्ट टुरिजम सिटीका रूपमा विकास गर्न पोखरा पर्यटक बसपार्कसहित पोखराका मुख्य पर्यटकीय स्थलमा निःशुल्क ईन्टरनेट सुविधा उपलव्ध गराउन आग्रह गरे ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले पूर्वाधार विकासका काममा विद्युत, टेलिकम, खानेपानीलगायत सरोकारवाला सबैको समन्वय हुनुपर्नेमा जोड दिए  ।

परिषद्ले आजै नेपाल टेलिकमका गण्डकी प्रदेश प्रमुख वसन्त लिङ्थेपलाई पनि भेटी सो विषयमा जानकारी गराएको छ ।

परिषद्ले यसअघि विद्युत् भूमिगत आयोजनाका इन्जिनियरसँग पनि भेटेर भूमिगत गर्ने क्रममा पर्यटकीय क्षेत्रको भित्री सडकमा खनिएका खाल्डोलाई व्यवस्थित रूपमा पुर्नका लागि आग्रह गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *