हर्मुज क्षेत्रमा तनाव

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम अझै कायम रहेको बताएका छन् । बिहीबार राति हर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

इरानको उच्च सैन्य कमान्डले अमेरिकी सेनाले इरानी तेल ट्यांकर तथा हर्मुज जलडमरूमध्यतर्फ गइरहेका अन्य जहाजलाई निशाना बनाएको आरोप लगाएको छ । साथै, बन्दर खामिर, सिरिक र केश्म टापु आसपासका तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको दाबी गरिएको छ ।

अमेरिकाले भने इरानले अमेरिकी नौसेनाका निर्देशित क्षेप्यास्त्रवाहक युद्धपोतहरूमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरिएको जनाएको छ । ट्रम्पले इरानले ‘हामीसँग खेलवाड गरेको’ टिप्पणी गरेका छन् ।

यो घटनाक्रम इरानको विदेश मन्त्रालयले युद्ध अन्त्यसम्बन्धी अमेरिकी प्रस्तावमाथि विचार भइरहेको बताएको एक दिनपछि भएको हो ।

इरानी सरकारी सञ्चारमाध्यमले सुरुवातमा हर्मुज क्षेत्रमा विस्फोट भएको र ‘शत्रुसँग गोली हानाहान’ भएको उल्लेख गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानमा पनि विस्फोटको आवाज सुनिएको थियो ।

इरानले अमेरिकी सैन्य जहाजमाथि जवाफी आक्रमण गरी ‘महत्त्वपूर्ण क्षति’ पुर्याएको दाबी गर्दै अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने इरानी आक्रमणलाई ‘उक्साहटरहित’ भन्दै अमेरिकी युद्धपोतहरू हर्मुज जलडमरूमध्य पार गरिरहेका बेला इरानले क्षेप्यास्त्र, ड्रोन र साना डुंगामार्फत हमला गरेको जनाएको छ ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड तथा नियन्त्रण केन्द्र र निगरानी केन्द्रलाई निशाना बनाएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानका धेरै साना डुंगा समुद्रमा डुबाइएको दाबी गर्दै इरानी पक्षलाई ‘ठूलो क्षति’ पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *