नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण गर्दैनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नगर्ने बताएका छन् । सामाजिक संजालमार्फत महासचिव पोखरेलले त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुने बताएका हुन् ।

उनले अहिलेको हार केवल वामपन्थको मात्र हार नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको बताएका छन् । उनले भनेका छन्, ‘नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासंगको सम्वन्धका आधारमा निर्धारण हुन्छ। अहिलेको हार केवल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो । त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरुले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु हो ।’

उनले भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्नु गलत हुने बताए ।

उनले भने, ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ। जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो । संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरुको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकुलतालाई अनुकुलतामा बदल्ने काम गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *