त्रिकोणात्मक सिरिजमा नेपालको तेस्रो जित

काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । मंगलबार दिउँसो भएको खेलमा ओमानलाई ८१ रनले हराउँदै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो ।

जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ३९.३ ओभरमा अलआउट हुँदै १ सय ७५ रनमात्र बनाउन सक्यो । ओमानको लागि विनायक शुक्लाले ३६, हामद मिर्जाले ३४, हस्नैन उल वाहबले २९, हस्सनैन शाहले १४, नदीम खानले कप्तान जतिन्दर सिंहले १२/१२ तथा वासिम अलीले १० रन बनाए ।

नेपालको लागि गुलसन झाले ९ ओभरमा ३८ रन दिएर पाँच विकेट लिए । यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह एरीको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो । इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्याएका थिए ।

ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान २–२ विकेट लिए ।

जितसँगै नेपाल २४ खेलबाट १८ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ भने २८ खेलबाट ३१ अंक जोडेको ओमान तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *