हर्मुजमा फसेका जहाजलाई सुरक्षितरुपमा बाहिर निकाल्न अमेरिका तयार

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले इरान, मध्यपूर्व तथा अमेरिकाको हितका लागि प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित मार्गदर्शन गरिने उल्लेख गरेका छन्। तर, कुन–कुन देशलाई सहयोग गरिनेछ भन्ने उनले खुलाएका छैनन् । ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको उक्त अभियानमा कुनै हस्तक्षेप भए कडाइका साथ प्रतिकार गरिने ट्रम्पले चेतावनी दिएका छन्।

फेब्रुअरीदेखि सुरु भएको द्वन्द्वपछि इरानले जलडमरूमध्यमा जहाज आवागमनमा कडा नियन्त्रण लगाएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी कायम गरेको छ ।

इरानका सांसद इब्राहिम अजिजीले अमेरिकी हस्तक्षेपलाई युद्धविराम उल्लङ्घनका रूपमा लिइने बताएका छन्।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले ‘प्रोजेक्ट फ्रिडम’ मा १५ हजार सैनिक, निर्देशित क्षेप्यास्त्र विनाशक जहाज र १०० भन्दा बढी विमान परिचालन गरिने जनाएको छ।

इरानसँगको युद्ध सुरु भएदेखि करिब २० हजार नाविक खाडी क्षेत्रमा अलपत्र परेका छन्। उनीहरूमा आवश्यक सामग्री अभाव र स्वास्थ्य समस्या बढ्ने चिन्ता व्यक्त गरिएको छ।

विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले द्वन्द्वका कारण विश्व ऊर्जा बजारमा दबाब बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *