वायुसेवा संचालक संघद्वारा राहत प्याकेज घोषणाको माग

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो ।

संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न माग गरेको छ । हाल मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानका लागि प्रत्येक अवतरण वा उडानमा अमेरिकी डलर १० तिर्नुपर्ने व्यवस्था रहेकाले यसले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडादर पनि महँगो हुने संघको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै पछिल्ला विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले हवाई सेवा क्षेत्र ठूलो दबाबमा परेको संघले जनाएको हो ।

संघका अनुसार विश्वव्यापी रूपमा बढेको कच्चा तेलको मूल्य, मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व, विगतको कोरोना महामारी तथा २०८२ भदौमा भएको आन्दोलनको प्रभावका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ ।

यसले गर्दा वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा ठूलो वृद्धि भएको छ भने नेपाल आउने पर्यटकहरूको संख्यामा समेत उल्लेखनीय कमी आएको छ।

संघले जानकारी दिएको अनुसार पहिले कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत हुने गरेपनि हाल यो बढेर ५५–६० प्रतिशत पुगेको छ । यसले कम्पनीहरूको आर्थिक प्रवाहमा गम्भीर दबाब परेको जनाएको छ ।

\

Leave a Reply

Your email address will not be published. Required fields are marked *