काठमाडौँ । काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ । संघीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा– १६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ ।
कामपा– १५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले राससलाई जानकारी दिए । ‘स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ’, उनले भने ।
सरकारले शुक्रबार बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’मा पठाइएको छ । शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ ।
