बुद्धजयन्तीमा दुई आध्यात्मिक कृति सार्वजनिक

काठमाडौं । बुद्धजयन्तीको अवसरमा दुई महत्वपूर्ण आध्यात्मिक कृतिहरू सार्वजनिक गरिएका छन् ।

धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछेद्वारा लिखित “मृत्युपछिको संसार” तथा आध्यात्मिक प्रेरणाले भरिएको कृति खेन्पो पाल्साङ नोर्बु भोम्जन लामाद्वारा अनुवादित “खाण्डो डोवासाङ्मो (गगनचारी) को जीवनकथा” सार्वजनिक गरिएको हो ।

दुवै पुस्तकहरू बौद्ध शिक्षा विस्तारमा सक्रिय मैत्री धर्म द्वीप केन्द्रद्वारा प्रकाशित गरिएका हुन् ।

सार्वजनिक गरिएका कृतिहरूलाई केवल पुस्तकका रूपमा मात्र नभई मानव चेतना, कर्म, करुणा र धर्ममार्गको गहिरो आलोक बोकेका अमूल्य मार्गदर्शक ग्रन्थका रूपमा हेरिएको बताइएकाे छ ।

“मृत्युपछिको संसार” ले जीवन, कर्म, मृत्यु र मृत्यु पश्चात्को रहस्यमय यात्रामाथि प्रकाश पार्दै बर्दो अवस्था, कर्मफलको सूक्ष्म न्याय, करुणा, बोधिचित्त र सत्कर्मको महत्वलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको छ । साे कृतिले भौतिक व्यस्ततामा हराइरहेको मानवलाई वास्तविक शान्ति बाह्य संसारमा नभई आफ्नै अन्तर्मनमा निहित रहेको सन्देश दिने प्रकाशकले जनाएकाे छ ।

त्यसैगरी “खाण्डो डोवासाङ्मो (गगनचारी) को जीवनकथा” ले मानव जीवनका संघर्ष, पीडा, अन्याय, करुणा, सहनशीलता र सद्धर्मको विजयलाई मार्मिक ढंगले चित्रण गरेको छ । दिदीभाइको दुःखद यात्रादेखि कठिन परिस्थितिमा पनि सत्य र धर्ममा अडिग रहने अदम्य शक्ति तथा मातृकरुणाको संरक्षणले यस कृतिलाई चेतनाजागरणको प्रेरणादायी सन्देशका रूपमा स्थापित गरेको बाैद्धविद्वानकाे धारणा छ।

कार्यक्रममा सहभागी सम्पूर्ण धर्म अनुरागीहरूलाई आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।

बाैद्धधर्मसम्बन्धी भिडियाेहरूका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *