गोरखा । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।
विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिनुभयो । “२०८१ सालमा १० हजार ४२३ जनाले मनास्लु भ्रमण गरेका थिए । २०८१ को तुलनामा २०८२ मा चार हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको छ”, उनले भने, “हरेक महिनाको पर्यटक सङ्ख्या तुलना गर्दा अघिल्लो वर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गर्दछ ।”
वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिएको ओझाको भनाइ छ । अन्य सबै महिनामा वृद्धि भए पनि चैत महिनामा भने पर्यटक सङ्ख्या घटेको देखिन्छ । अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरूमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निष्कर्ष छ ।
