ट्रम्पको लोकप्रियता घट्दो क्रममा

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृति दर उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तरमा झरेको छ। रोयटर्सको नयाँ सर्वेक्षणअनुसार इरानसँगको युद्ध र बढ्दो जीवनयापन खर्चप्रति असन्तुष्टिका कारण उनको लोकप्रियता घटेको हो । चार दिनसम्म गरिएको सर्वेक्षणले ३४ प्रतिशत अमेरिकीले मात्रै ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेको देखाएको छ, जुन यसअघिको ३६ प्रतिशतबाट घटेको हो ।

सर्वेक्षणका अधिकांश प्रतिक्रिया ह्वाइट हाउस डिनरमा भएको गोलीकाण्डअघि संकलन गरिएका हुन् । उक्त घटनाले जनमतमा कस्तो प्रभाव पार्छ भन्ने अझ स्पष्ट भइसकेको छैन। घटनामा संलग्न व्यक्तिमाथि राष्ट्रपतिको हत्या प्रयासको अभियोग लगाइएको छ।

सन् २०२५ जनवरीमा पदभार ग्रहण गर्दा ४७ प्रतिशत समर्थन पाएका ट्रम्पको लोकप्रियता त्यसयता निरन्तर घट्दो क्रममा रहेको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इन्धन मूल्यमा तीव्र वृद्धि भएको छ। जीवनयापन खर्च व्यवस्थापनमा ट्रम्पको प्रदर्शनलाई समर्थन गर्ने संख्या २२ प्रतिशतमा झरेको छ।

अमेरिकामा पेट्रोलको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेर करिब ४.१८ डलर प्रति ग्यालन पुगेको छ। यसले विश्व तेल आपूर्तिमा समेत असर पारेको छ।

मूल्यवृद्धिले अमेरिकी परिवारहरूमा आर्थिक दबाब बढाएको छ भने ट्रम्पको रिपब्लिकन पार्टीभित्र पनि आगामी नोभेम्बर मध्यावधि निर्वाचनमा कांग्रेसको माथिको नियन्त्रण गुम्ने चिन्ता बढेको छ।

रिपब्लिकन समर्थकमध्ये ७८ प्रतिशत अझै ट्रम्पको पक्षमा भएपनि ४१ प्रतिशतले जीवनयापन खर्चसम्बन्धी उनको कामप्रति असन्तुष्टि जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *