काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बसपार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणबद्ध छलफल गरेर बसपार्कबाट बस सञ्चालन गरिएको हो ।

व्यवसायीसँगको समझदारीमा सेवा स्थानान्तरण गर्न समय दिएर समस्या समाधान गरिएको उनले बताइन् । सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ कोरिडोरमा सवारी पार्किङको समस्या न्यूनीकरण भएको छ ।

सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिमसमेत समाधान भएको छ । कार्यवाहक प्रमुख डंगोलले भनिन्, “सहरी सुविधा वितरण तथा विकास व्यवस्थापनमा विवाद समाधान गर्न यो अनुकरणीय उदाहरण हो । यसमा सबै पक्षको जित भएको छ । निर्णय कार्यान्वयन गर्दा कसैलाई नोक्सान पुगेको छैन । यसरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र थप सुधार गर्ने कामलाई प्राथमिकता दिइनेछ ।”

यसअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । सोअनुसार नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको पनि धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायीहरू सम्पर्कमा नआएपछि पुनः तीन दिनको समय दिइएको थियो ।

प्रहरी नायब उपरीक्षक सुनिलजंङ शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा सात सय सार्वजनिक यातायातका साधन बाहिरिने गरेकामा करिब ३५० वटा सवारीसाधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यहाँ एकीकृत बसपार्क सञ्चालन भए त्यो समस्या समाधान हुने उनले बताए ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार हाले नुवाकोटतर्फ सञ्चालन हुने करिब ६५ वटा र धादिङतर्फ चल्ने करिब ९० वटा सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । बसपार्कमा लामो दूरीको एउटा सवारीसाधन नौ घण्टा पार्किङ गरेमा रु. चार सय ५० शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको रु दुई सय २० लिने गरिएको मल्लले बताए ।

बसपार्कबाट औसतमा दैनिक तीन सय ४० वटा गाडी आउने जाने गर्छन् । नयाँ बसपार्क क्षेत्र एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ भने यहाँ सात सय ५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *