वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको डिनरमा भएको गोलीकाण्डपछि संदिग्धलाई पक्राउ गरिएको जानकारी दिँदै उक्त घटना ‘एक्लो आक्रमणकारी’ को काम भएको बताएका छन् ।
शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा अचानक गोलीको आवाज आएपछि ट्रम्पसहित उच्च अधिकारीहरूलाई सुरक्षाकर्मीहरूले तत्काल सुरक्षित स्थानतर्फ सारेका थिए । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले संदिग्धलाई ‘साहसी सुरक्षा सदस्यहरूले छिट्टै नियन्त्रणमा लिएको’ बताए।
उनका अनुसार एक सुरक्षा अधिकारीलाई गोली लागेको भएपनि सुरक्षात्मक भेस्टका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ । ‘भेस्टले आफ्नो काम गर्यो,’ ट्रम्पले भने। अधिकारीहरूले गोली नलागेको बताएका संदिग्धलाई हार्वर्ड युनिभर्सिटी अस्पतालमा लगिएको छ ।
डीसीका कार्यवाहक प्रहरी प्रमुख जेफ्री क्यारोलले उक्त घटनालाई ‘पृथक’ भन्दै संदिग्ध होटलमा पाहुनाका रूपमा रहेको बताए । उनका अनुसार संदिग्ध सुरक्षा जाँच पार गर्दै डिनर हलतर्फ दौडिँदा शटगन, ह्यान्डगन र चक्कु बोकेको अवस्थामा भेटिएको थियो ।
डिस्ट्रिक्ट अफ कोलम्बियाकी अमेरिकी अधिवक्ता जेनियन पिर्रोले संदिग्धमाथि हिंसात्मक अपराधमा हतियार प्रयोग गरेको दुई आरोप तथा खतरनाक हतियारसहित संघीय अधिकारीमाथि आक्रमण गरेको एक आरोप लगाइने जानकारी दिइन्। उनलाई सोमबार अदालतमा पेश गरिनेछ।




























