-क्रान्तिशिखा धिताल ।
पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति मेरो सधैं सम्मान र आत्मीयता रहँदै आएको छ। तर लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण मोडमा केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्नु आवश्यक ठानेकी छु । विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु । यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस् त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो।
हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौँ । तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ, र सार्वजनिक बहसको स्तरलाई घटाउँछ। यो भन्दै गर्दा हामी आफैं पनि के गर्ने, के नगर्ने भन्नेमा उत्तिकै सचेत हुनुपर्छ । अरुले लगाइदिएको सौन्दर्यको लेपनमै हौसिरहेका छौ भने, आफूलाई सुधारौँ ।
तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन् । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस् । म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक (intellectual) रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस् । मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ।
प्रश्न गर्ने स्तर उकास्नुहोस् । केही युट्युब च्यानलहरू आफैं मुख्यधारा मिडियासँग प्रतिस्पर्धामा उभिएका छन् आवश्यक परे त्यहाँबाट पनि सिक्नुस्। हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौं, र आवश्यक तयारीका साथ उभिनेछौं।
सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो । राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततः त्यही संस्कारलाई बलियो बनाउने त हो जसविरुद्ध हामी उभिदै आयौँ । मिडिया सूचना दिने माध्यम मात्रै होइन, समाजको चेतना निर्माण गर्ने शक्ति पनि हो। यही शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु तपाईँहरुको अपरिहार्य दायित्व हो। हामी आफ्नो भूमिकाबाट यति धेरै नभड्कौं ।
-धिताल रास्वपाकी सांसद हुन् ।
