काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।
विज्ञप्ति जारी गरी महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ ।
पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ ।

