प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल, विकास निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।

त्यसक्रममा विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *