पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति थापालाई

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति गगन थापालाई दिएको छ ।

बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले पूर्व पदाधिकारी लगायतहरूसँग समन्वय गर्न सभापति थापालाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । पुस गरेको विशेष महधिवेशनपछि शेरबहादुर देउवा पक्ष असन्तुष्ट हुँदै छुट्टै गतिविधि गर्दै आएको छ ।

त्यसैगरी विशेष महाधिवेशनपछि आएको गगन थापा नेतृत्वको कार्यसमितिले असोजमा नियमित १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ। प्रवक्ता चालिसेले जिम्मेवारीमा भएकाले संवाद गर्नुपर्ने भएकाले सभापतिलाई नै जिम्मेवारी दिएको बताए । उनले भने, ‘पार्टीका सभापतिलाई हाम्रा पूराना अग्रज नेता, पुराना पदाधिकारीसँग संवाद गर्ने र पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि समन्वय गर्नका लागि जिम्मेवारी दिएका छौं ।’

बैठकले क्रियाशील सदस्य व्यवस्थापन समिति गठन गरेको छ । महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ताका चालिसेका अनुसार समितिको सदस्यहरूमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही रहेका छन् ।

यो समितिले पार्टीको आसन्न १५औं महाधिवेशनका लागि सदस्यता व्यवस्थापनका सबै काम गर्ने उनले बताए ।

त्यसैगरी बैठकले पार्टी संगठन सञ्चालनको जिम्मेवारी महामन्त्री गुरुराज घिमिरेसहित दुई सहमहामन्त्रीलाई दिएको छ । बैठकले सहमहमान्त्रीद्वय बहादुर सिंह लामा र मुक्ता यादवलाई पनि जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *