शेचेन गुम्बामा यसै वर्षदेखि गृहस्थीका लागि विशेष ध्यान शिविर हुने

काठमाडाैँ । बौद्ध दर्शन र साधनाको क्षेत्रमा विश्वभर प्रख्यात शेचेन गुम्बामा यसै वर्षदेखि गृहस्थी (आम नागरिक) हरूका लागि विशेष ध्यान शिविर आयोजना हुने भएको छ । यही अप्रिल १५, १६ र १७ (बैशाख २, ३ र ४ गते) का दिन तीनदिने विशेष तालिम सञ्चालन हुन लागेको हो ।

यो शिविर विशेष गरी घर-व्यवहारमा रहेर पनि आध्यात्मिक शान्तिको खोजी गरिरहेका गृहस्थीहरूका लागि तयार पारिएको ९ वर्षे ध्यान पाठ्यक्रम’ अन्तर्गतको एक हिस्सा हो ।

९ वर्षे साधनाको संरचना

सामान्यतया बौद्ध परम्परामा लामाहरूले ३ वर्ष, ३ महिना, ३ दिन एकान्तमा बसेर कडा साधना गर्नुपर्ने हुन्छ । तर, समय अभाव र पारिवारिक जिम्मेवारीमा रहेका गृहस्थीहरूका लागि शेचेन गुम्बाले वर्षको तीन दिन प्रत्यक्ष दीक्षा दिएर बाँकी समय घरमै अभ्यास गर्ने गरी ९ वर्षे प्याकेज तयार पारेको छ । यसको संरचना यस प्रकार छ:

  • पहिलो ३ वर्ष (पूर्वअभ्यास – ङोन्डो): मनको जग बसाल्न र आध्यात्मिक मार्गका लागि तयारी गर्ने चरण ।
  • दोस्रो ३ वर्ष (त्रिमुल अभ्यास – चासुम): गुरू, देव र डाकिनीको साधना गरी गहिरो चरणमा प्रवेश ।
  • अन्तिम ३ वर्ष (महासन्धि – झोक्छेन): बुद्धत्वको सर्वोच्च अवस्था र परम शान्तिको अनुभूति गर्ने चरण ।

पुज्यनीय राब्जाम रिन्पोछेको प्रत्यक्ष मार्गदर्शन

यो विशेष ध्यान शिविर राब्जाम रिन्पोछेको प्रत्यक्ष रेखदेख र विशेष मार्गदर्शनमा सञ्चालन हुनेछ । रिन्पोछेको मार्गदर्शनमा गरिने यस्तो अभ्यासले साधकहरूमा गहिरो आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।

भौँतारिरहेकाहरूका लागि उपयुक्त अवसर

आजको भागदौडपूर्ण जीवनमा मानसिक तनाव र अशान्तिले भौँतारिरहेका मानिसहरूका लागि यो शिविर अत्यन्तै उपयोगी हुने आयोजकको भनाइ छ । शिविरमा सहभागी हुनुअघि गुरु र गुरु-परम्पराका बारेमा सामान्य अध्ययन गर्नु राम्रो मानिन्छ, जसले साधनाको समयमा थप स्पष्टता प्रदान गर्दछ ।

हरेक वर्ष हुने यो ३ दिने तालिममा सहभागी भएर साधकहरूले वर्षभरि आफ्नो दैनिक जीवनमा कसरी ध्यान र अध्यात्मलाई जोड्ने भन्ने कुरा सिक्नेछन् । चैत्र २७ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमको विस्तृत जानकारीको लागि इच्छुक सहभागीले सीधै फोन सम्पर्क गर्नसक्ने छन् ।

१. खेन्पो छोइङ राङ्डोल रोकया ९८६५०६०१९५

२. लोपोन छिरीङ रावल ९८०८३८७०६७ / ९८६९२०९४८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *