अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई जर्मन चान्सलरको आग्रह

दोहा। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा इमानदारीपूर्वक सहभागी हुन आग्रह गरेका छन्। कतारको राजधानी दोहामा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले वास्तविक संवादको बाटो रोज्नुपर्ने बताए।

चान्सलर मर्जका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम रोक्न आवश्यक छ र यस क्षेत्रका देशहरू तथा इजरायलमाथि थप सैन्य खतरा उत्पन्न हुन नदिनु जरुरी छ। उनले जर्मनी अमेरिकासँग नजिकबाट समन्वयमा रहेको उल्लेख गर्दै आगामी घण्टामा कूटनीतिक प्रयासलाई तीव्रता दिइने जानकारी दिए।

मर्ज हाल मध्यपूर्व क्षेत्रको तीन दिने भ्रमणमारहेका छन्। यस क्रममा उनले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन्। भ्रमणको अन्तिम चरणमा उनी संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा जर्मनीलाई ‘प्रतिगमनको सहयोगी’ भन्दै आलोचना गरेका छन् । त्यसको जवाफमा चान्सलर मर्जले उक्त टिप्पणीलाई ठूलो अस्तव्यस्तता र असुरक्षाको संकेतका रूपमा लिएको प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *