-नारायण पौडेल ।
राजनीतिकरुपमा कसैलाई खुइल्याउनु परे जेलेन्स्कीजस्तो भनिएको सुनिन्छ । सन्की र अपरिपक्व भएको जनाउन जेलेन्स्की शब्दको प्रयोग भएको होला । जसले जेलेन्स्कीको तुलना ताइ न तुईका कमजोर मुटुका मानिसका खातिर गर्छ, उसले जेलेन्स्की नबुझेको ठहर्छ । सुगौली सन्धी पछि नेपालले बाह्य मुलुकसककग प्रत्यक्ष युद्ध लडेको छैन । झण्डै २१० वर्षयता नेपालको राष्ट्रियता मूलतः वीरताभन्दा मुखौटे राष्ट्रबादका रुपमा रहेको छ । बाह्य देशसककगको युद्ध अनुभव हाम्रो जिनबाट हटिसकेको मान्न सकिन्छ।
जेलेन्स्कीको उदय चमत्कारिक ढंगले भयो । टेलिसिरियलमा नेताको भूमिका निर्वाह गर्ने चर्चित अभिनेता एकाएक वास्तविक जीवनमै राष्ट्रिय नेता बने । पेशाले हास्य कलाकार जेलेन्स्की शासन सत्तामा पुगेपछि सायदै कहिलै हास्यरसमा रम्न पाए । उनी गम्भीर र दृढ निर्णय लिने एवंम् संकटमा समेत सबैलाई गोलबन्द गरेर नेतृत्व गर्न सक्ने साहसी नेता दरिए ।
युक्रेन–रसिया युद्धको प्रारम्भ जेलेन्स्कीको कार्यकालमा भएको होइन । जेलेन्स्की सत्तामा आउनुभन्दा पाँचवर्ष अघि नै रुसले युक्रेनको क्रिमिया कब्जा गरेको थियो । युक्रेनमा रुससँग प्रतिवाद गर्ने की सम्झौता गर्ने भन्ने मुद्दा प्रधान थियो । युक्रेन युरोप र रुसबीचको बफर जोनजस्तो छ । चीन र भारतका बीचमा नेपाल भएजस्तै । आक्रामक रुसलाई काउन्टर दिन जेलेन्स्कीले नाटोमा आवद्ध हुन प्रयास थाले । उनलाई नाटोमा सहभागी नहुन रुसले चेतावनी दियो, र आक्रमण शुरु गर्यो ।
रुसको आक्रमणपछि जेलेन्स्कीको जीबन जतिसुकै बेला तलमाथि हुनसक्थ्यो । उनी तेस्रो देशमा निर्वासनमा जान सक्थे । आफू र परिवारलाई सुरक्षित गर्न सक्थे । उनले त्यो बाटो रोजेनन् । सके रुसको प्रतिकार गरी परास्त गर्ने, नसके पनि अन्तिम साससम्म लड्ने उनको दृढताका कारण जेलेन्स्कीको वरिपरि युक्रेनी गोलबन्द भए । लाखौं प्रभावित र हजारौं सहादत भैसक्दा पनि सैन्य भर्ना रोकिएन । सैन्य बिद्रोह भएन । जेलेन्स्कीका बिरुद्ध युक्रेनीहरु जाइ लागेनन् ।
युद्ध शुरु भएको ४ दिनमा युक्रेनको राजधानी किभ कब्जा गर्ने र जेलेन्स्कीलाई नियन्त्रणमा लिने रुसको प्रारम्भिक रणनीति रहेको बताइन्छ । तर, ३ वर्षसम्म रुस त्यसो गर्न असमर्थ रह्यो । युक्रेन युद्धमा रुसले पनि हजारौं सेना गुमायो । युक्रेनले रुसमाथि कैयौं आक्रमण र प्रतिआक्रमण गर्यो ।
युक्रेनलाई अमेरिका र युरोपियन देशहरुले साथ दिए । पश्चिमा शक्तिको आडमा युक्रेनले बुता बाहिरको युद्ध लडेको भन्ने पनि धेरै छन् । युक्रेनलाई युद्धमा बल्झाएर युक्रेनको प्राकृतिक स्रोतमाथि कब्जा जन्माउने अमेरिकी दाउको ‘मतियार’ जेलेन्स्की भए भन्ने पनि छन् । यस्को सत्यता परीक्षण हुँदै गर्ला । तर, पश्चिमा नेताहरुसँग उनीहरुकै देशमा पुगेर सवालजवाफ गर्ने र उनीहरुले सहयोग रोके पनि रुसको मुकाविला गर्ने आँट जेलेन्स्कीले देखाएकै हुन् ।
जेलेन्स्कीको नाम तिनले लिनु हुँदैन जसले आफू जोगिन हेलिकप्टर चढेर भागे । देश अस्तब्यस्त भइन्जेल कानमा तेल हालेर बस्ने, देश संकटमा पर्दा समन्वय गर्न नसक्ने र देशमा नेतृत्वको चरम संकट हुँदा चाइँकचुइँक गर्न नसक्नेले जेलेन्स्कीको साहस/दुस्साहसलाई मजाक बनाउन हुँदैन ।
जेलेन्स्कीको उपमा तिनलाई दिनु हुँदैन, जो पर्दाभित्रबाट देशकै धरोहर ढाल्न षड्यन्त्र गरे । देशलाई नेतृत्वको चरम आवश्यकता परेको बेला पिठ फर्काउने, युवालाई मर्न मार्न तयार बनाउने तर आफू भने मोबाइल स्विचअफ गरेर मस्त बस्ने मस्तिरामहरुलाई जेलेन्स्कीको उपमा सुहाउँदैन । जेलेन्स्कीका निर्णय कति सुझबुझ थिए ? इतिहासले निर्मम समीक्षा गर्ला । तर, समीक्षा गरिरहन नपर्ने एउटा पक्ष के हो भने उनी कायर वा डरपोक होइनन् । प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि दबाब दिएपनि जेलेन्स्की भन्दैछन्– युक्रेनको सार्वभौमिकता र अखण्डताकाबिरुद्ध हुनेगरी सम्झौता गर्दिन । भविष्यमा के होला, ३ वर्षसम्म रुससँग मुकाबिला गर्ने जेलेन्स्कीको नाम कम्तिमा जो पायो त्यसैका लागि दुरुपयोग गर्नु हुँदैन ।
