लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम शीर्ष स्थानमा रहेर प्लेअफमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार छैटौँ जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रनमात्र बनाउन सक्यो । चितवनको लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

सुदूरपश्चिमको लागि पुनित महराले २.१ ओभरमा १४ रन दिएर तीन विकेट लिँदा दीपेन्द्र सिंह एरी, हिक्मत महरा, अविनाश बोहोरा र इशान पाण्डेको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । सुदूरपश्चिमको लागि क्रिस लिनले अर्धसतक बनाए । उनले ५६ बलमा ५ चौका र  तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै कप्तान दीपेन्द्र सिंह एरी र आरिफ शेखले समान २४/२४ रन बनाउँदा विनोद भण्डारीले २१ र पुनित मेह्राले १३ रन बनाए ।

चितवनको लागि सैफ जैबले दुई विकेट लिँदा रञ्‍जित कुमार र जर्ज स्क्रिमसहले एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम ५ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुग्न सफल भएको छ । यता चितवन ६ खेलबाट ४ अंक जोड्दै छैतौन्स थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *