अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन् ।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको बुधबार सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ ।’

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको उनले बताइन् । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उनले प्रष्ट्याइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी कहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्युरो छ, विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ, हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्, प्रभावकारी ढङ्गले चल्न सकुन, समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।’अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको बताइन् ।

सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन् ।’

प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसद्मा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणासमेत राखेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘यहाँ किसानका नाममा राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ, मन्त्री–सांसद बनिरहेको हुन्छ, कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मल, बीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ, अरु व्यवसाय गर्नेहरूका नाममा राजनीति भयो, आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ छ, यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?’

नेता किरातीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *