श्रीलङ्कामा चक्रवातबाट मृत्यु हुनेको संख्या ४६५ जनाको मृत्यु, ३६६ बेपत्ता

कोलम्बो । श्रीलङ्कामा हालै आएको विनाशकारी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५ पुगेको छ। अधिकारीहरूका अनुसार बाढी र पहिरोमा परी अझै ३६६ जना बेपत्ता छन्। गत साता देशव्यापी रूपमा भएको भारी वर्षा र त्यसपछिको बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।

अत्यावश्यक सेवाका आयुक्त-जनरल प्रभात चन्द्रकीर्तिका अनुसार बाढीले क्षतिग्रस्त घर, उद्योग र सडक लगायतका पूर्वाधार पुनर्निर्माण गर्न करिब ६ देखि ७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

सरकारले बाढी प्रभावित प्रत्येक परिवारलाई घर सरसफाइका लागि २५ हजार र घर पूर्ण रूपमा गुमाउनेहरूलाई २५ लाख रुपैयाँ (श्रीलङ्काली मुद्रा) राहत उपलब्ध गराएको चन्द्रकीर्तिले जानकारी दिएका छन्।

राष्ट्रपति अनुरा कुमार दिसानायकले देश तीन वर्षदेखि चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा यो विपत्ति आइलागेकाले राहत तथा उद्धारका लागि विदेशी सहयोग अपरिहार्य रहेको बताएका छन्। यसअघि शनिबार नै आपतकाल घोषणा गर्दै उनले अन्तर्राष्ट्रिय सहयोगमा पुनर्निर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

मङ्गलबार शीर्ष अधिकारीहरूसँगको छलफलमा राष्ट्रपति दिसानायकले आर्थिक सङ्कटका बीच विपत्तिको सामना गर्नु सरकारका लागि सबैभन्दा ठूलो चुनौती भएको बताए।

सन् २०२२ मा विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले ४६ अर्ब डलरको बाह्य ऋण तिर्न नसकेको घोषणा गरेको थियो। हाल आईएमएफको २.९ अर्ब डलरको ऋण सहयोगमा अर्थतन्त्र सुधारको प्रयास भइरहेको छ।

चक्रवातका कारण देशका १५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने करिब २ लाख मानिस राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयस्थलमा बसिरहेका छन्।

राजधानी कोलम्बोमा बुधबारदेखि बाढीको सतह घट्दै गए पनि मध्य पहाडी भेगका दुर्गम क्षेत्रहरूमा सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार कार्य कठिन भइरहेको अधिकारीहरूले जनाएका छन्।

विपत्तिको बाबजुद पनि श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा एक लक्जरी क्रुजलाई स्वागत गरेको छ। श्रीलङ्का सुरक्षित र खुला रहेको सन्देश विश्वलाई दिन यसो गरिएको श्रीलङ्का टुरिजम बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *