काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारका लागि दश वटा प्रावधान राखेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई सोमबार परिपत्र गरेका छन् ।
परिपत्रमा उम्मेदवारका लागि १० वटा प्रावधान राखिएको हो । परिपत्रअनुसार लेबी नबुझाउनेले कुनै पनि तहको उम्मेदवार बन्न नपाउने भएको छ ।
परिपत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिएबमोजिमको सहयोग रकम (लेबी) तोकिए बमोजिमको पार्टी निकायमा बुझाउनुपर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।’
त्यस्तै कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । परिपत्रमा भनिएको छ, ‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन् ।’



