ओलीमाथिको आक्रमण देश र स्वाधीनतामाथिको आक्रमण होः उपमहासचिव गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक राजनीतिक हिसाबले विशेष किसिमको हुने बताएका छन् ।

सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा उपमहासचिव गुरुङले यस्तो बताएका हुन् । उनले वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि महाधिवेशन विशेष र महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘यही मंसिर २७–२९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक, राजनीतिक र सांगठानिक हिसाबले विशेष किसिमको हुनेछ । वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि विशेष र महत्त्वपूर्ण हुनेछ।’

उपमहासचिव गुरुङले जनेजी आन्दोलनपछि एमालेले अङ्गालेको जनताको बहुदलीय जनवादमाथि समेत कतिपयले प्रश्न उठाउने गरे पनि जबजको सान्दर्भिकता अझै बढ्दै गएको बताए ।

पछिल्लो परिस्थितिमा नेपालका कतिपय कम्युनिस्ट पार्टीहरू एकीकरणका नाममा वृद्धाश्रममा परिणत भएको अवस्थामा मुलुकको समग्र हित र विकासका लागि नेकपा एमालेको औचित्य र आवश्यकता थप बढ्दै गएको उनले बताए ।

उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताए । ओलीलाई शक्तिशाली देखेर नै विदेशी पक्षले षड्यन्त्र गरेको उनको जिकिर थियो ।

उनले भने, ‘केपी शर्मा ओलीलाई शक्ति देखेरै देशी–विदेशी पक्षबाट षड्यन्त्र भयो । ओलीमाथिको आक्रमण उनलाई सक्न तयार पारिएको योजना वर्षौँदेखिको हो । जेनजी पुस्ताको भावनालाई भड्काएर बन्न लागेको देश पनि जलाए । ओली यो मुलुकका राष्ट्रिय स्वाधीनताका पहरेदार हुन् । ओलीमाथिको आक्रमण देश र स्वाधीनतामाथिको आक्रमण र प्रहार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *