काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिङ्गल पनि सार्वजनिक गरिएको छ । पार्टी सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताइन् ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
