कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर। बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ।

करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार, सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका छन्।

‘कित्ताकाट रोकिएको अवस्थामा धेरै सेवाग्राहीको काम भएको थिएन’, उनले भने, ‘अहिले सेवा खुलेसँगै दैनिक सेवाग्राहीको चाप बढेको छ । सेवाग्राहीले कित्ताकाटको सेवा लिन अवसर पाएका छन् । कित्ताकाट नहुँदा सेवाग्राहीको उपस्थिति न्यून थियो।’

भोजपुरको नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित रूपमा सेवा लिने गरेका छन्।उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन्।

कार्यालयका अनुसार, जिल्लाका नौ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले मात्रै भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरिसकेको छ। बाँकी स्थानीय तहले भने भूमिको वर्गीकरण प्रक्रिया अझै सम्पन्न गर्न सकेका छैनन्। अब सरकारले तोकेको अवधिभित्र, २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरी सक्नुपर्ने कार्यालयको भनाइ छ।

भूमिको वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिँदा सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, कित्ताकाट गरेर अंशबन्ड गर्नेलगायतका काममा समस्या भोग्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *