११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज  सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए । “महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन”, उनले भने ।

महासचिव पोखरेलले अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन् । उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताए । “यो महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ”, उनले भने ।

महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी गर्नुभयो । त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे ।

उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनःनिर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने दाबी गरे । उनले युवा पुस्ता, विशेषतः जेन–जेड मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा बागमती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताए । प्रदेश सङ्गठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित बागमतीलाई केन्द्रबिन्दु बनाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *