माधव नेपाललाई झाँक्रीको प्रश्नः आफ्नै वेइज्जती हुने गरी किन कारबाही गरेको कमरेड ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेकी नेतृ रामकुमारी झाँक्रीले आफ्नै वेइज्जती हुने गरी कारबाही गरिएको भन्दै माधव नेपालप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

एकीकृत समाजवादीलाई माओवादी केन्द्रसँग एकता गर्नुअघि कारबाही गरिएको भन्दै झाँक्रीले शुक्रबार सामजिक संजालमार्फत यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘प्रिय कमरेड माधव अभिवादन ! आफ्नै वेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईँ सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको इतिहासलाई फेरि बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।’

उनले माधव नेपाललाई जहाँ रहे अभिभावको मान्ने र यसरी सधै सम्झने बताएकी छन् । उनले भनेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे । आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईँ जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।’

माधव नेपालले एकता प्रक्रियामा सहभागी नभएका नेताहरू घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई पार्टीका तत्कालिन अध्यक्ष नेपालले पार्टी सदस्यसमेत नरहनेगरि कारबाही गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *