एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ४-० गोलले हराउँदै म्याड्रिडले लिगमा दसौं जित निकालेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल गर्दा जुड बेल्लिन्घाम र अल्भारो कारेरासले समान एक/एक गोल गरे । खेलको १९ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।
४३ औँ मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा म्याड्रिडले अग्रता बढाउने मौका गुमाएको थियो । लगत्तै एक मिनेटपछि भालभेर्डेको पासमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए ।
यस्तै ८२ औँ मिनेटमा कारेरासले गोल गर्दै म्याड्रिडलाई ४-० गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड ११ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको भ्यालेन्सिया १८ औँ स्थानमा रहेको छ ।
