काठमाडौं । पेनाल्टी सुटआउटमा गोलरक्षक अन्जना राना मगर नायक बनेपछि अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । बुधबार बेलुकी सम्पन्न खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले हराएको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पगेको खेलमा नेपालकी गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी रोक्दै नेपाललाई जित दिलाएकी हुन् । नेपालको लागि सविता राना मगर, रश्मी कुमारी घिसिङ र निशा थोकरले गोल गर्दा अनिता बस्नेत चुकिन्न ।
त्यसअघि सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतको लागि सौम्य गुगुलोथले एक गोल गर्दा नेपालको लागि रश्मी कुमारी घिसिङले एक गोल गरिन् । खेलको ३० औँ मिनेटमा सौम्यले गोल गर्दै भारतलाई शुरूवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङले हेडर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएकी हुन् ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । यसअघि भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २-१ गोलले हराएको थियो ।
