ग्योङ्ग्जु (दक्षिण कोरिया) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने आसन्न भेटले अमेरिका–चीनबीचको लामो समयदेखि जारी व्यापार युद्धका ‘धेरै समस्याहरू समाधान गर्ने’ अपेक्षा व्यक्त गरेका छन् ।
उनले भने, “म चीनका राष्ट्रपति सीसँग उत्कृष्ट बैठक गर्ने अपेक्षा राख्छु र धेरै समस्याहरू समाधान हुन गइरहेका छन् ।”
उनले यस वार्ताबाट अमेरिकाले फेन्टानिल सम्बन्धी कारणले चीनमाथि लगाएको केही शुल्क घटाउन सक्ने सङ्केत समेत दिए ।
एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी चिसो बैठकका लागि होइन, हाम्रो देश र विश्वका लागि ठोस परिणाम निकाल्नका लागि गइरहेका छौँ ।”
ट्रम्पले चीनसँगको वार्तामा ताइवानको संवेदनशील विषय उठ्ने कि नउठ्ने भन्ने विषयमा अझै निश्चित निर्णय नगरिएको बताए । उनको यो भेट एसिया भ्रमणको तेस्रो चरणमा पर्दछ । यसअघि उनी मलेसियामा क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएको थियो र जापानमा नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेट गरेका थिए ।
प्रधानमन्त्री ताकाइचीले द्विपक्षीय सम्बन्धलाई ‘स्वर्ण युग’ को सुरुआतका रूपमा व्याख्या गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने घोषणा गरेका थिए । साथै, उनले दिवङ्गत पूर्व प्रधानमन्त्री सिन्जो आबेको स्वामित्वमा रहेको गल्फ क्लब उपहार दिने प्रतिज्ञा गरेका थिए ।
दक्षिण कोरियाको बुसानमा अवतरण गर्नासाथ ट्रम्पलाई २१ तोपको सलामी र सैन्य ब्यान्डले ‘वाइएमसिए’ धुनसहित स्वागत गरिएको थियो । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उनलाई देशको सर्वोच्च योग्यता र सिल्ला युगको सुनौलो मुकुटको प्रतिकृति अर्पण गरे ।
यसैबीच, उत्तर कोरियाले प्योङयाङका ‘शत्रुहरू’ विरुद्ध शक्ति प्रदर्शनस्वरूप पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको छ । ट्रम्पले त्यसबारे प्रतिक्रिया दिँदै भने, “कुनै समय हामी उत्तर कोरियासँग पुनः संवादमा संलग्न हुनेछौँ, उनीहरू पनि चाहन्छन् र म पनि चाहन्छु ।”
ट्रम्प र सीबीचको ऐतिहासिक भेट ग्योङ्ग्जुमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनको साइडलाइनमा तय गरिएको छ । यो छ वर्षपछि हुने पहिलो प्रत्यक्ष संवाद हो । विश्लेषकहरूका अनुसार यो वार्ताले व्यापार युद्ध अन्त्यतर्फ निर्णायक मोड ल्याउन सक्छ ।
अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक विलियम याङका अनुसार संयुक्त राज्य अमेरिका तुरुन्तै कुनै व्यापार सम्झौता गरेर ट्रम्पलाई विजयको रूपमा देखाउन चाहन्छ, तर चीन दीर्घकालीन स्थायित्व र आपसी विश्वास निर्माणमा केन्द्रित छ ।
ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति लीसँग पनि शिखर वार्ता गर्ने तय छ । जुलाईमा वासिङ्टनमा भएको भेटपछि यो उनीहरूको दोस्रो प्रत्यक्ष संवाद हुनेछ । त्यस क्रममा सियोलले तीन खर्ब ५० अर्ब अमेरिकी डलरको लगानी गर्ने प्रतिबद्धताको साटोमा अमेरिकाले दक्षिण कोरियाली आयातमा १५ प्रतिशत कर घटाउने सहमति भएको थियो । यद्यपि अटो उद्योगका शुल्कहरू अझै यथावत छन् र लगानी संरचनामा मतभेद कायम छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उक्त सम्झौतालाई ‘जटिल’ बताउँदै अझै धेरै विवरण तय गर्न बाँकी रहेको बताएका छन् तर ट्रम्पले वार्तामा कुनै समस्या नभएको दाबी गरेका छन् ।
यसैबीच ग्योङ्ग्जुमा ट्रम्पको आगमनसँगै कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै उनका ‘सिकारी लगानी मागहरू’ को निन्दा गरेका छन् ।
सन् २०१९ मा डिमिलिट्राइज्ड जोन (डिएमजेड) मा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको ऐतिहासिक भेटपछि सम्भावित पुनः वार्ताबारे पनि चर्चा चल्न थालेको छ । कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार उत्तर कोरियाले रुसको ठोस समर्थन पाएकाले ऊ अहिले पहिलेभन्दा कम पृथक छ ।
