काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रसाईंले पाँच हजार जेनजीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताएका हुन् ।
त्यस्तै उनले काठमाडौं महानगरपालिका मेयर बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिँडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे ।
उनले भने, ‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ । यो बालेनको मात्र देश हो ? हाम्रो होइन ? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिडेका छन् । बालेन पनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर ।’
त्यस्तै, उनले आगामी मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिए । प्रसाईंले आन्दोलन गर्ने बताएपछि आयोगले उनलाई बोलाएर छलफल गरेको हो । छलफलमा आयोगसँग प्रसाईंले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताए ।
