गाजा । गाजामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेष्टिनीको मृत्यु भएको छ । हामास–नियन्त्रित नागरिक सुरक्षा निकाय र अस्पताल अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।
इजरायलले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको भन्दै ती आक्रमणहरू गरेको जनाएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले मंगलबार हामासमाथि गाजामा इजरायली सैनिकमाथि आक्रमण गरेको र मृत बन्धकहरू फर्काउने सम्झौता तोडेको आरोप लगाएका छन् ।
तर हामासले भने उक्त आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै युद्धविराम सम्झौताप्रति प्रतिबद्धता दोहोर्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई ‘कुनै पनि कुरा’ ले जोखिममा नपार्ने बताएका छन् । तर उनले चेतावनी दिँदै भने, ‘यदि इजरायली सैनिकहरू लक्षित भए भने इजरायलले जवाफ दिनुपर्छ ।’
इजरायली आक्रमणले गाजा सिटी, बेइत लाहिया, अल–बुरेइज, नुसेरात र खान युनिसका घर, विद्यालय र आवासीय भवनहरूमा क्षति पुर्याएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यलयले जारी गरेको विज्ञप्तिमा नेतन्याहूले ‘सैन्य बल प्रयोग गरी शक्तिशाली आक्रमण’ गर्न आदेश दिएको उल्लेख छ ।
