काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । जग्गा हिनामिना गर्ने योजनाअन्तर्गत घुस डिल भएको अडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो ।
अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । यही प्रकरणमा एमाले नेता तथा पूर्वमन्त्री बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको बताइएको छ ।