काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको कारण अस्तव्यस्त बनेको नेपाललाई युएईमा भएको युनिटी कपले एकजुटमात्र बनाएन, सिंगो देशलाईनै खुशी हुने कारणपनि दिन सफल भएको छ । नेपाल क्रिकेट संघ(क्यान)कै आयोजनामा दुई पटकको विश्वकप च्यापियन वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिजमा नेपालले पाएको २-१ को एतिहासिक सफलताले सम्पूर्ण देशवासीको पिडामा मल्हम लगाएको छ ।
यसअघि आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग बारम्बार चुक्दै आएको नेपालले यसपटक भने कुनै गल्ती गरेन । गत शनिबार भएको पहिलो खेलमै १९ रनको एतिहासिक जित निकालेको नेपाल दोस्रो खेलमापनि सुधारिएको प्रदर्शन गर्दै ९० रनको फराकिलो जित निकाल्न सफल भएको थियो । पहिलोपटक पूर्ण सदस्य राष्ट्रसँग सिरिज खेलेको नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको हो । तेस्रो खेलमा भने बेन्चका खेलाडीलाई मौका दिएको नेपाल १० विकेटले पराजित हुन पुग्यो ।
विश्व क्रिकेटमै पावर हिटरको नामले चिनिएको वेस्ट इन्डिजमाथि पाएको एतिहासिक सफलतासँगै नेपालले विश्वकप क्रिकेटकै ध्यान फेरी एकपटक आफुतिर तान्न सफल भएको छ । आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्ने लक्ष्यमा रहेको नेपाललाई युएईमा हासिल गरेको सफलताले भविष्यमा अझै ठुलो ढोका ढकढकाउ मद्दत पुर्याउनेछ । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनको झिनो हार बेहोरेको नेपालले फेरी एकपटक आफूलाई एसोसियटमा शक्तिशाली राष्ट्रको रूपमा स्थापित गरेको छ ।
अबको पालो टी-२० विश्वकप छनोट
युएईमा पाएको सफलतासँगै उच्च मनोबलमा रहेको नेपाली टोली आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट खेल्न त्यहिबाट बुधबारनै ओमान प्रस्थान गरिसकेको छ । ओमानमा ८ अक्टोबरदेखि १७ अक्टोबरसम्म चल्ने प्रतियोगितामा नेपालको एकमात्र लक्ष्य उपाधि जित्दै विश्वकपमा छनोट हुने रहेको छ ।
यसअघि सन् २०१४ र २०२४ मा टी-२० विश्वकप खेलिसकेको नेपाल तेस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको छ । नेपालले विश्वकप छनोटकै तयारी स्वरूप वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेलेको थियो ।
यसअघि नेपालले गत महिना अष्ट्रेलियामा टप एण्ड टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले ६ खेल खेल्दा दुई जित र चार हारको नतिजा निकालेको थियो । अष्ट्रेलिया भ्रमणको क्रममा नेपालले त्यहाँको स्थानीय क्लबहरुसँग पनि खेल खेलेको थियो । पछिल्लो केहि महिनादेखि विश्वकपको तयारी गरेको नेपाली टोलीको मनोबल उच्च रहेको छ ।
ओमानमा हुने विश्वकप छनोटमा ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । छनोटमा आयोजक ओमानसँगै, पपुवा न्युगिनी, मलेसिया, कतार, युएई, जापान, कुवेत र सामोआले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटमा सहभागी ९ टोलीलाई तीन/तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ ।
तीन समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । यस्तै सिंगल राउण्ड रोबिन आधारमा हुने सुपर सिक्सको शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंका हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल ८ अक्टोबरमा कुवेतसँग खेल्नेछ भने दोस्रो खेल जापानसँग खेल्नेछ ।
