सेनाको ‘रौँ–चिरा विश्लेषण’ गर्ने समय अहिले होइनः रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले असामान्य अवस्थामा नेपाली सेनाकाबारेमा विश्लेषण नगर्न आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मिश्रले अहिले असामान्य अवस्था रहेकाले सेनाकाबारेमा विश्लेषण नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘सेनाको ‘रौं–चिरा विश्लेषण’ गर्ने समय अहिले होइन ! पत्रकारिता सधैँ निष्पक्ष र वस्तुनिष्ठ हुन्छ– हुनुपर्छ। तर देशमा ठूलो संकट आउँदा राष्ट्रिय सुरक्षाको मामिलामा पत्रकारिता निष्पक्ष र वस्तुनिष्ठ नहुन सक्छ। पत्रकारिताको निष्पक्षता र वस्तुनिष्ठतामाथि राष्ट्रिय सुरक्षा हावी हुन्छ । त्यस्तै, देशको सामान्य अवस्थामा सेनामाथि प्रश्न गर्न सकिन्छ– गरे हुन्छ। असामान्य अवस्थामा गर्न हुँदैन–गर्न मिल्दैन ।’

मिश्रले भदौ २४ गते राति १० बजे सेनाले शान्ति सुरक्षाको जिम्मा नलिएको भए स्थिति भयावह हुने बताए । उनले भने, ‘सोचौँ, २४ गते राति १० बजे सेनाले शान्ति–सुरक्षाको जिम्मा आफ्नो हातमा नलिएको भए के, के हुन्थ्यो होला ? त्यो दिन देशको हालत अफ्रिकाका द्वन्द्व र अराजकातापूर्ण क्षेत्रको जस्तो थियो। त्यो सम्हाल्न सक्ने अवस्थामा प्रहरी थिएन । अझै पनि हामी संवेदनशील समयमा छौँ। नेपालमा प्रहरी र न्यायलय लगायत सबै संस्थालाई दलीयकरण गरिसकियो। नेपाली सेना त्यो दूषितताबाट बचेको छ । देशमा सेनामात्र शान्ति–सुरक्षाको एकमात्र विश्वासिलो आधार देखिएको बेला सेनाको ‘रौँ–चिरा विश्लेषण’ गर्ने समय अहिले होइन । सेनाको पनि मनोबल खस्काइदियौँ भने, भगवान नाकरे, अर्को भदौ २४ को अवस्था आएको खण्डमा तपाईँ–हामीलाई कसले बचाइदिने? अराजकताबाट देशलाई कसले बचाउने ? प्रधानसेनापतिज्यू, तपाईँले पछिल्लो सङ्कटमा खेल्नुभएको भूमिकाका लागि तपाईँ र नेपाली सेनालाई सलाम छ ! अरू ज–जसले भूमिका खेले तिनलाई पनि सलाम छ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *