-डा. शेखर कोइराला
मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ । यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप ‘जेनजी’ आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु ।
म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ । भाद्र २४ गते आन्दोलनको आह्वान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।
हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपथ्र्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।
साथीहरु,
लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरी एकपटक लोकतान्त्रिक इतिहाँसका ति योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।
मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तिव्र चाहना छ । हाम्रा युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन् । कांग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ । समयको पदचाप अनुरुप हामी हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्तावाट बाहिरिन वाध्य पार्यो । नेपाली समाज र यहाँका उर्जावान युवाहरु एकातिर छन, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरु भए, हामी चुक्यौं । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं ।
साथीहरु,
जसरी देशमा नयाँ सम्भावनाहरु प्रकट भैरहेका छन । नयाँ घटनाहरु अगाडि आएका छन । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ । कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउने भनी म तपाईहरु विच दशैं लगत्तै देशव्यापी रुपमा आउनेछु।
अन्तमा,
सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी ‘न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको’ भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ । विपी कोइरालाको दिव्यवाणी सम्झौं ‘नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले’ फेरी एकपटक देशभरी यसलाई बुलन्द गरौं ।
विपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको ‘कोइराला निवास’ जहाँ म बस्थें । जहाँ हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको थियो । लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाइएको छ । कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।