काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जीतपुरसिमारा अन्तराष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता-२०८२ को सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धरान सिटी एफसीलाई १३-० गोलले हराउँदै एपीएफले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सिमारामा भएको एकपक्षीय खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले पाँच तथा सविता राना मगर र अनिता केसीले समान दुई/दुई गोल गरिन् । यस्तै हिरा कुमारी भुजेल, सरस्वती हमाल र अनिता बस्नेतले समान एक/एक गोल थपे । एपीएफले एक गोल उपहार पाएको हो ।
अब एपीएफले भोली हुने सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै आजै हुने पहिलो सेमिफाइनल खेलमा बेलुकी ४ बजे त्रिभुवन आर्मी फूटबल क्लब र रौतहट फूटबल एकेडेमी भिड्नेछन् ।
जेनजी समूहको भदौ २३ र २४ भएको आन्दोलनको कारण रोकिएको प्रतियोगिता आजबाट पुन शुरु भएको हो ।