दोहा । इजरायलले पछिल्लो ७२ घण्टामा कतारसहित ६ मुलुकमाथि आक्रमण गरेको छ । मंगलबार कतारको राजधानी दोहामा हमास नेताहरू छलफलमा भएको बैठकस्थलमा गरिएको लक्षित हवाई आक्रमणमा वरिष्ठ नेता खलिल अल–हाय्याका छोरा, कार्यालय निर्देशक, तीन अंगरक्षक र एक कतारी सुरक्षाकर्मी सहित ६ जनाको मृत्यु भएको छ।
तर शीर्ष नेताहरू भने जीवित रहेको बताइएको छ । इजरायली आक्रमणको लहरले गाजामात्र नभई ६ मुलुकसम्म फैलिएको छ। सोमबारदेखि गाजामाथि भएका आक्रमणमा मात्रै १५० भन्दा बढी मारिएका छन् भने ५४० भन्दा बढी घाइते भएका छन् ।
गाजा सिटीमा निरन्तर आक्रमण जारी राख्दै इजरायलले उच्च–तले भवन, पूर्वाधार ध्वस्त पारेको र हजारौंलाई घरबारविहीन बनाएको छ। अक्टोबर २०२३ देखि सुरु भएको युद्धमा हालसम्म ६४ हजारभन्दा बढीको ज्यान गएको तथ्यांक छ ।
सोमबार पूर्वी लेबनानको बेका र हर्मेलमा गरिएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । मंगलबार बेरुत नजिकै बार्जा गाउँमा इजरायली ड्रोन आक्रमण हुँदा एक जना हिजबुल्लाह सदस्य घाइते भएका छन्। नोभेम्बरमा भएको युद्धविराम सम्झौता हुँदाहुँदै पनि इजरायलले लेबनानी भूभागमा निरन्तर आक्रमण गर्दै आएको छ।