एसिया कपमा बंगलादेशको विजयी शुरुवात

एजेन्सी । दुबईमा जारी एसीसी एसिया कप-२०२५ अन्तर्गत भएको खेलमा बंगलादेशले विजयी शुरूवात गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले हराएको हो ।

जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १७.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बंगलादेशको लागि कप्तान लिटन दासले सर्वाधिक ५९ रन बनाए । उनले ३९ बलमा ६ चौका र एक छक्का हिर्काए । यस्तै टोहिद हृदोएले ३५, प्रविज होसाइन इमोनले १९ र तान्जिद हसनले १४ रन बनाए ।

हङकङको लागि अतिक इकबालले दुई र आयुश शुक्लाले एक विकेट लिए ।

यसअघि अबुधबीस्थित जायेद क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । हङकङको लागि निजाकत खानले ४२, जेशन अलीले ३०, कप्तान यासिम मुर्तजाले २८ र बाबर हायातले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

बंगलादेशको लागि टास्किन अहमद, तान्जिम हसन साकिब र रिषद होसाइनले समान दुई/दुई विकेट लिए ।

जितसँगै समूह ‘बीमा रहेको बंगालदेश एक खेलबाट दुई अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको हङकङ अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ । हङकङको यो लगातार दोस्रो हार हो । यसअघि अफगानिस्तानविरुद्ध भएको खेलमापनि हङकङ ९४ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *