काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा आज नेपाल र मेलबर्न रेनेगेड्स भिड्दैछन् । काजाल्येस एरिनामा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ ।
आज हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । मंगलबार दिउँसो भएको खेलमा नेपालले होबर्ट हुरिकेन्सलाई ६६ रनले हराएको थियो । मध्यम गतिका बलर नन्दन यादवले पाँच विकेट लिएपछि नेपालले सिरिजमा पहिलो जित निकाल्न सफल भएको थियो । नेपाल त्यसअघिको तीन खेलमा लगातार पराजित भएको थियो ।
रेनेगेड्स भने पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग पराजित हुँदा दोस्रो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीलाई हराएको थियो ।
हाल नेपाल ४ खेलबाट २ अंक जोड्दै तालिकाको नवौँ स्थानमा रहेको छ भने रेनेगेड्स तीन खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।
