माओवादीको सर्कुलरः उपमहासचिव शर्माले बैठकमा आत्मालोचना गर्नुभएन बरु उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाउनुभयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठकका निर्णय तल्लो तहमा सर्कुलर पठाएको छ । माओवादीले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा आत्मालोचना नगरेको भन्दै तल्लो तहमा सर्कुलर पठाएको हो ।

बैठकमा उपमहासचिव शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भएपनि उनले माइन्युटमा निर्णय गरेको बाहेकका विषयमा आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाइएको छ । गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने ठहर बैठकमा सदस्यले गरेपछि अध्यक्षले नै माफी माग्दै आत्मालोचना गर्न भने पनि शर्माले नटेरेको दाबी सर्कुलरमा गरिएको छ ।

सर्कुलरमा भनिएको छ, ‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव क.जनार्दन शर्मा ‘प्रभाकर’का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो । छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट क. प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो । तर, कमरेड प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाउनुभयो । अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ । स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाइ अगाडि बढ्न पनि जोड दिएको छ।’

स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न जोड दिएको छ । स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डलगायतका अधिकांश नेताले उपमहासचिव शर्मालाई आत्मालोचना आग्रह गरेका थिए । तर शर्माले पार्टीका ३१ लाख मतदाता ११ लाखमा झरेकोमा नेतृत्वले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *