यु-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौं । भुटानमा जारी एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल र साउदी अरेबिया भिड्दैछन् । थिम्पु चाङलिमिथाङ स्टेडियममा हुने खेल दिउँसो १:४५ बजे शुरु हुनेछ ।

नेपाल आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको नेपाल आज साउदी अरेबियालाई हराउने लक्ष्यमा रहेको छ । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग अंक बाढ्न बाध्य भएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले खेलपछि खेलाडीहरु बढी आत्मविश्वास हुँदा अंक गुमाउन पुगेको बताएका थिए । यता साउदी अरेबियापनि पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोलले पराजित भएको थियो ।

आजको खेलमा जित हासिल गर्न नसकेको खण्डमा नेपालको समूह विजेता बन्ने झिनो आशापनि समाप्त हुनेछ । प्रतियोगिताको हरेक समूहको शीर्ष स्थानमा रहने टोली र दुई उत्कृष्ट उपविजेता टोली एसिया कपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *