अमेरिका प्रवेश गर्न अब १५ हजार डलर जम्मा गर्नुपर्ने

वासिङ्टन । अमेरिकी सरकारले नयाँ नियम लागू गर्दै केही विदेशी नागरिकहरूलाई अमेरिका प्रवेशका लागि १५ हजार डलरसम्म धरौटी तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यो प्रावधान आगामी १२ महिनासम्म लागू हुने परीक्षण कार्यक्रमअन्तर्गत हुनेछ ।

मंगलबार प्रकाशित अस्थायी नियमअनुसार, यो योजना ती देशका नागरिकहरूलाई लक्षित गरिएको छ जहाँका यात्रुहरूले भिसा अवधि नाघ्ने दर ऐतिहासिक रूपमा उच्च देखिएको छ । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन कडाइ गर्ने रणनीतिको पछिल्लो हिस्सा हो ।

यसअघि जून महिनामा अमेरिका प्रवेशमा १२ देशका नागरिकहरूमाथि प्रतिबन्ध लगाइएको थियो भने जुलाईमा भिसा आवेदनमा ४ हजार २५० को भिसा प्रवेश शुल्क थपिएको थियो । नयाँ नियमअनुसार, यो व्यवस्था बी १ (व्यवसाय) र बी–२ (पर्यटन) भिसा लिएर अमेरिका आउन चाहने ती देशका नागरिकहरूमाथि लागू हुनेछ ।

डिपार्टमेन्ट अफ स्टेटले प्रभावित देशहरूको सूची चाँडै सार्वजनिक गर्ने जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सन् २०२३ को रिपोर्ट अनुसार चाड, लाओस र हाइटी जस्ता देशमा भिसा अवधि नाघ्ने दर अत्यन्तै उच्च छ । त्यस्तै धेरै भिसा उल्लंघन गर्ने देशहरूमा मेक्सिको, कोलम्बिया, भेनेजुएला, ब्राजिल, र डोमिनिकन गणराज्य रहेका छन् ।

कुन यात्रुले कति धरौटी तिर्ने भन्ने निर्णय अमेरिकी कन्सुलर अधिकारीहरूले यात्रुको यात्रा उद्देश्य, आर्थिक स्थिति, पेशा र शैक्षिक पृष्ठभूमिका आधारमा गर्नेछन् । यसले विदेशी सरकारहरूलाई आफ्ना नागरिकहरूका भिसा उल्लंघन दर घटाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *