नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ : परराष्ट्रमन्त्री राणा

पोखरा ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले साना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेकी छन्।

नेपाल तरुण दल कास्कीले बुधबार पोखरामा आयोजित ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन र तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताइन्।

‘दलमा, संगठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, साना विषयमा चित्त दुखाएर पार्टी छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ,’ उनले भनिन्, ‘परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ।’ कांग्रेसका सामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने बताए। साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उनको भनाइ छ।

मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी छाडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गरिन्। उनले पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले नयाँ पुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने बताइन्।

‘त्याग, बलिदान र संघर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ,’ मन्त्री देउवाले भनिन्, ‘हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नुपर्छ, सुशासनमा ध्यान दिनुपर्छ।’ निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उनको भनाइ छ।

फरक प्रसंगमा मन्त्री देउवाले नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढंगले उठाउँदै आएको उल्लेख गरिन्। उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखेकी छिन्।

सो विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा पनि नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरेको बताइन्। ‘हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ,’ उनले भनिन्, ‘नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्छ।’

उनले जलवायु परिवर्तनले ठुलो चुनौती निम्त्याएको भन्दै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताए। पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ।

जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षारोपण गर्नुपर्ने, प्लास्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी र नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताइन्। मन्त्री देउवाले नेपाल भूराजनीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको उल्लेख गरिन्।

स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उनको भनाइ थियो। ‘नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्व समुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो,’ मन्त्री देउवाले बताइन्, ‘हाम्रो कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरूले नेपाललाई उच्च सम्मान दिने गरेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *