थाईल्यान्डसँग तत्काल युद्धविराम गर्न क्याम्बोडियाको प्रस्ताव

बीबीसी । थाईल्यान्ड र क्याम्बोडिया सीमामा तेस्रो दिन पनि सङ्घर्ष जारी रहँदा क्याम्बोडियाले तत्काल युद्धविरामको प्रस्ताव गरेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि क्याम्बोडियाका राजदूत कायो चिअले सुरक्षा परिषद्मा आफ्नो देशले ‘नि:सर्त’ युद्धविरामका लागि आग्रह गरेको बताएका छन्। उनले पेनोम पेनले ‘विवादको शान्तिपूर्ण समाधान’ चाहेको बताएका छन् ।

यसअघि थाईल्यान्डले क्याम्बोडियासँग सीमा जोडिएका आठ वटा जिल्लामा सैनिक शासन लागु गरेको थियो। थाई सेनाले क्याम्बोडियाले दक्षिणी तटीय क्षेत्र नजिकैको नयाँ भूभागमा आक्रमण गरेको बताएको छ। आफ्नो देशको जल सेनाले उनीहरूलाई त्यहाँबाट पछि हटाएको थाई सेनाको दाबी छ।

दक्षिण पूर्वी एशियाका दुई छिमेकी देशहरूबीच बिहीवारयता जारी द्वन्द्वमा ३२ जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। सीमा विवाद एक्कासी चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन्। द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन्।

थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले दुई पक्षबीच जारी झडपहरूले युद्धको रूप लिन सक्ने चेतावनी शुक्रबार दिएका थिए ।

उनका अनुसार दुई पक्षबीच विभिन्न १२ स्थानमा सङ्घर्ष चलिरहेको छ र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएका छन्।
थाईल्यान्डले क्याम्बोडियाली पक्षले गैरसैनिक क्षेत्रहरूमा गोली प्रहार गरेको आरोप लगाउँदै सीमापारिबाट प्रहार गरिने रकेट पुग्न सक्ने सबै गाउँहरू खाली गरिएको बताएको छ।

क्याम्बोडियाले थाईल्यान्डलाई ‘क्लस्टर म्यूनिशन’ प्रहार गरेको आरोप लगाएको छ। सर्वसाधारण मानिसलाई नराम्रो असर पुग्ने भएकाले विश्वका अधिकांश भागमा ’क्लस्टर म्यूनिशन’मा प्रतिबन्ध लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *