तपाईंहरूलाई यो ठाउँमा पुर्याउने श्रेय भिजिट भिसालाई नै जान्छ, धेरै चिन्ता नगर्नुः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा घिमिरेले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चिन्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्याउलान् नि किन चिन्ता गर्नुहुन्छ ?’

साथै उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाप्रति बढी चिन्तित भएको बताए । प्रमुख सचेतक घिमिरेले रास्वपाको अहिलेसम्मको उपलब्धि नै भिजिट भिसाबाट सम्भव भएको बताए ।

उनले भने, ‘तपाईंहरूलाई यो ठाउँमा पुर्याउने श्रेय भिजिट भिसालाई नै जान्छ। त्यसैले त्यही विषयमा अत्यधिक चिन्ता गर्नुपर्ने अवस्था छैन ।’

भिजिट भिसा प्रकरण एउटा गम्भीर विषय भए पनि त्यसलाई लिएर संसद अवरुद्ध गर्नु राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *