श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले फराकिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा श्रीलंकालाई ७-० गोलले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

बसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन समिक्षा मगरले दुई गोल गर्दा पुर्णिमा राई, कुशुम खतिवडा, सरिता नाथ र विर्शना चौधरीले समान एक/एक गोल गरे । नेपालले एक गोल उपहार पाएको हो । खेलको १६ औँ मिनेटमा पुर्णिमाले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

३५ औँ मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ४२ औँ मिनेटमा सरिताले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् । ४४ औँ मिनेटमा श्रीलंकाका खेलाडीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा नेपाल पहिलो हाफमा ४-० गोलले अगाडि बढेको थियो ।

६७ औँ मिनेटमा विर्शनाले पेनाल्टीमा गोल गर्दै नेपाललाई फराकिलो जिततर्फ अगाडि बढाएकी थिइन् । ७४ औँ मिनेटमा समिक्षा मगरले गोल गर्दै नेपाललाई ६-० गोलको अग्रता दिलाइन् । यस्तै ७८ औँ मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७-० गोलको जित दिलाएकी हुन् ।

जितसँगै नेपाल चार खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन श्रीलंका पुछारमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *